बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुंदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउंदै आफुलाई ठूलो दलको नेता हुं भन्नेहरुले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउंदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।
राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउंदै सत्तामा बस्ने सिमित मान्छेका कारण देशको अवस्था बिग्रदै गएको उनले बताए । उद्योग धन्दा, कल कारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफुहरुलाइ ठूलो पार्टीको नेता हुं भन्ने बाटै देश कसले लान्छ भन्ने डर भएको बताए । अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरुबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महङी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै नेता के सीले राज्यले महङी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको टिप्पणि गरे । उनले उद्योग, कलकारखान खोल्ने बेला सांसद र मन्त्रीहरुको कारखाना खोलिएको बताए । एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरुका कारण देश पछाडी परेको उल्लेख गर्दै एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए । प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखाना सञ्चालनमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
किसानलाई चाहिने मल,विउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने उनले बताए । कृषि प्रधान देश नेपालका किसानहरुले खेतीपाती गर्दा मल, विउ नपाउनु दुखद् पक्ष भएको बताउंदै सरकारले कृषिमा ध्यान दिनै नसकेको दावी गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै भोट दिंदा त्यो पार्टीको नीति, सिद्वान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, लालचन पन्थलगायतले बोल्दै जनताले थेग्नै नसक्ने गरी महङी, भ्रष्टाचार बढेकाले यसका बिरुद्व आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।