बुटवल, ५ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई दिनदेखि स्थगित भएको मतगणना पुनः सुरु भएको छ । यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानै देखि तिलोत्तमाको मत गणना रोकिएको थियो । सत्ता गठबन्धका पाँच दल सहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले कर्मचारीले बदमासी गरेका वडाको पुन मत गणनाको माग गरेका थिए ।
एमाले बाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नं २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएअनुसार मतगणना कार्य सुचारु गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले जानकारी गराए ।
हिजो राती ९ बजेबाट गर्ने भनिएको तिलोत्तमा नगरपालिकाको मत गणना स्थलमा वडा सदस्यका उम्मेदवार नै मदिरा सेवन गरी हो होल्लागरेपछि मत गणना कार्य रोकिएको थियो । वडा नं. ५ मा एमालेका वडा सदस्यका उम्मेदवार मनिस अधिकारीले मदिरा सेवन गरी गणना स्थलमा पसेर होहल्ला गर्न थालेपछि केही बेर स्थिति तनाव ग्रस्त भएको थियो ।
मदिराको नसामा रहेका अधिकारीले शिल गरेर राखिएको मतपत्र सहितको कोठाको ढोका जबरजस्ती खोल्न लगाएर फोटो खिच्दै गरेको अन्य दलका प्रतिनिधिले देखेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तिलोत्तमामा अहिलेसम्म १० हजार ५९८ मत गणना गरिसकिएको छ । जसमा कांग्रेस उम्मेदवार रामकृष्ण खांणले ४ हजार १६९ र एमालेका उम्मेदवार मोहन चापागाईले ३ हजार ८६७ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमाले उम्मेदवार जागेश्वरी चौधरीले ३ हजार ६७१ र गठबन्धन (माओवादी केन्द्र)का उम्मेदवार हेमन्त पाण्डेले १ हजार ८९८ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेको तिलोत्तमा २ को वडाध्यक्षमा एमालेले ११९ र नेपाली काँग्रेसले २४२ मत प्राप्त गरेका छन् । यस्तै तिलोत्तमा १६ को वडाध्यक्षमा एमाललेले २०१ र नेपाली काँग्रेसले २५५ मत प्राप्त गरेका छन् ।