बुटवल, २२ बैशाख । नेपाली काँग्रेसका युवा नेता डा।चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताउनु भएको छ । उहाँले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गर्नुभयो ।
नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सिमित भएको बताउनु भएको हो ।
उहाँले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताउनु भयो ।
सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवललाई मानवताको सहरको रुपमा बिकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले जितेपनि आफूले गरेका बाचा एउटा पनि पुरा नगरेको बताउँदै आफूहरुले जितेमा त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सत्ता गठबन्धनको तर्फबाट महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि कुनैपनि हालतमा गठबन्धनका उम्मेदवारले जित्नुपर्ने र त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो ।
