तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ को चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यालयको शनिबार उदघाटन भएको छ । सम्पर्क कार्यालय उदघाटन पछि आयोजना गरिएको कोण सभामा बोल्दै मेयरका प्रत्यासी रामकृष्ण खांणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाउनु भयो । तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताउनु उहांले बताउनुभयो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा सन्तुलित र पक्षपातरहित विकास निर्माणमा जोड दिईएको छ । प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएको छ । पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरु पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।
कार्यक्रममा माओवादि जिल्ला अध्यक्ष निर्मल जीसी, माओवादिका नगर अध्यक्ष बेलप्रसाद शर्मा, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, नेता रोमणिप्रसाद पाठक, मिनप्रसाद अधिकारि लगायतले गठवन्धनका उम्मेदवारलाई भारी मतले विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे, सदस्यहरु धर्मादेवि न्यौपाने, प्रमिला सुनार, हरि पन्त, हिरा गिरि लगायतले आफुहरुलाई विजयी वनाई वडाको समग्र विकास गर्ने अवसर दिन आग्रह गर्नुभयो । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।
