तिलोत्तमा । भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्रको गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।
नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार हेमलाल पाण्डे (हेमन्त) ले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आग्रह गर्नुभयो । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि, युवा खेलकुद, कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ ।
हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोतमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खांणले बताउनुभयो ।
त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उहाको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु. १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ ।
मेयरका उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ, भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताउनुभयो । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने उहाको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने
उम्मेदवार खांणको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।
नागरिकहरुको आर्थिक स्तर अनुसारका न्यून मूल्यमा कार्यालयको नयां भवननिर्माण गर्ने र भवनको डिजाइन तयार गरिने जनाइएको छ ।
तिलोतमा बासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहाय स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
अध्ययन संगै स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ । सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।
नगरका सरकारी जग्गा संरक्षण गरिने, भोगाधिकार कसैलाइ नदिइने
नगरका सरकारी जग्गा संरक्षण र सहि उपयोग गर्ने तर कुनै प्रकारले जग्गाको अतिक्रमण गर्न र कसैलाई भोगाधिकार गर्न नदिइने प्रतिबद्धता गरिएको छ ।
बिजुलीबाट चल्ने इन्डक्सन चुलो खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशत अनुदान दिइने उल्लेख छ । विद्युत महशुलमा ३० युनिट सम्म खपत जबैलाई छुट दिइने र पानीको ब्यूनतम महशुलमा शतप्रतिशत छुट दिइने जनाइएको छ ।
तिलोतमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबसथा र सीसीटीभी क्यामेरा जडान गरिने उल्लेख छ । मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने जनाइएको छ ।
पांच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता
रुपन्देहीको तिलोत्तमामा कृषि क्षेत्रलाइ प्रमुख प्राथमिकता दिइएको छ । नगरमा एक वडा एक हाट बजार कृषि उत्पादन खरिद बिक्री योजना लागू गरिने संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।
कृषि उत्पादनमा युवा लक्षित रोजगार कार्यक्रम लागू गर्ने योजना छ भने पाँच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता गरिनुका साथै एक वर्षसम्म स्थानीय कर छुट दिइने प्रतिबद्धता पत्रमा छ । यसले युवा लगानीकर्ता र कम पूजी भएका लगानी कर्तालाइ थप उत्साहित बनाएको छ ।
त्यस्तै कृषकलाई आवश्यकता अनुसार बिउ मल र औषधी समयमा मै उपलब्ध गराउने, प्रत्येक वडाको खेती योग्य जमिनको तथ्यांक संकलन गरी कृषि उत्पादन वृद्धि गर्न तिलोत्तमा नागरिक कृषि कार्यक्रम लागु गर्ने भनिएको छ । त्यस्तैगरि सामुहिक खेती प्रणाली कार्य योजना लागू गरिने, प्रारिक मल उत्पादनमा आवश्यक आर्थिक सहयोगको व्यवस्था गरिने, १६÷३६ भैरहवा लुम्बिनी भूमिगत जल सिंचाइ कुलोलाई थप व्यवस्थित गराइने, नगर नागरिक कृषि सेक्टर कढ़ाई मेसिन तथा उपकरण योजना लागू गर्नेगरि कृषि क्षेत्रलाइ प्राथमिकतामा राखिएको हो ।
नगरभित्र विद्युतीय बस चलाइने
भौतिक तथा पूर्वाधार विकासमा पनि चासो दिइएको छ । तिलोतमा नगरपालिका भित्र विद्युतीय बस सेवा संचालन गरिने योजना छ । तिलोत्तमामा ५ वर्ष भित्र चक्रपथ निर्माण कार्य सम्पन्न गरिने उल्लेख छ । त्यस्त्ौ नगर भित्र सम्पूर्ण बाटो कालोपत्रे बनाइने, भित्री सहकहरुमा सडकबत्ती व्यवस्थापन प्रभावकारी बनाउने भनिएको छ ।
नगरलाइलाई हरितः सहर बनाउने योजना लागू गरिने उल्लेख छ । नगरका सडक निर्माणमा हाल लागू भएको उपभोक्ताले ५० प्रतिशत तिरेर सडक निर्माण गर्ने योजना खारेज गर्दै सडक निर्माणको सबै रकम नगरले ब्यहोर्ने प्रतिबद्धता पत्रमा छ ।
नगरका प्रत्येक वडाहरुमा जेष्ठ नागरिक मिलनकेन्द्र र वाल उद्यानपार्कको व्यवस्था गरिने साथै रुख वनस्पति तथा औषधीजन्य बोटबिरुवा रोपण तथा खरिद विक्री योजना लागू गरिने, प्रत्येक टोलमा सर–सफाई तथा हरियाली बनाउन मूल्याङ्कन पद्धतिबाट ग्रेड अनुसार अनुदान दिइने भनिएको छ ।
नगरभित्रको घर घरमा रहेको फोहोर व्यवस्थापनका लागि हाल लागेको शुल्क बन्द गरिने र नगरले निःशुल्क फोहोर उठाउने लोकप्रिय र ब्यबहारिक मुद्धा उठाइएको छ । सड़क पशु चौपायाहरुको उचित व्यवस्थापन गरिने साथै प्राकृतिक प्रकोप तथा डुबान क्षेत्रलाई उचित व्यवस्था गर्ने भनिएको छ । त्यस्तै रोहिणी, सुखौरा, तिनाउ लगायतका नदी र घोलाहरूमा तिलोत्तमा नगर तटबन्ध कार्यका लागि योजना लागू गरिने उल्लेख छ ।
उद्योग, व्यापार तथा पर्यटनमा ध्यान
आफुहरुको नेतृत्वले नगरले सामुदायिक वन तथा सार्वजनिक खाली जग्गालाई रमणीय उद्यान तथा पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्ने जनाएको छ । औद्योगिक व्यवसायको सम्भाव्यता पहिचान गरी सहुलियत व्यवसाय कार्य योजना लागू गरिने, नगरभित्र भएका होटल, ब्यबपार, उद्योग यातायात व्यवसायको समस्या अध्ययन गरी समाधान गरिने साथै नागरिक कोठेवारी तथा गृह उत्पादन खरिद विक्री कार्यक्रम लागू गरिने खांणले बताउनुभयो ।
त्यस्तै रोजगारी अन्तर्गत तिलोतमा नगर रोजगार योजना उत्पादनको आधारमा पारिश्रमिक दिने गरी लागू गर्ने, नगरका डाक्टर इन्जिनियर प्राध्यापक वकिल शिक्षक लगायतका दक्ष जनशक्तिलाई नगरमै बस्नका लागि प्रोत्साहन गर्ने पद्धति विकास गरिने, प्रशासन विज्ञद्वारा नगर र वडा कार्यालय संचालन तथा व्यवस्थापन कार्ययोजना तयार गरी लागू गरिने जनाइएको छ । भने तालिम प्राप्त वा दशजोड दुइ पास गरेका युवा युवतीहरूलाई रु ५ लाख सम्म ब्याजमा बिना धितो ऋण लगानी उपलब्ध गराइने संयुक्त प्रतिबद्धतामा उल्लेख गरिएको छ ।
त्यस्तै गरि जन्म, विवाह मृत्यु दर्ता बसाई सराई नागरिकको घरमा नै गई सेवा प्रवाह गराइने, प्रत्येक वडाहरुमा सबै प्रकारका हिंसा विरुद्धको हेल्प डेक्सको व्यवस्था गरिने, फरक क्षमता भएका विद्यार्थीको लागि विशेष कक्षाको व्यवस्था गरिने, सामुदायिक विद्यालयमा दिइने दिवा खाजामा शतप्रतिशत वृद्धि गरिने, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भनिएको छ । त्यस्तै दीर्घकालीन योजना अन्तर्गत तिलोतमा प्राविधिक विश्व विद्यालय स्थापना गरिने, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई मेकानिकल सब–ओभरसियर तालिम प्रत्येक वडाबाट ३ जनालाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।
नगरमा एक घर एक रोजगार व्यवसाय योजना लागू गरिने, रात्रीकालिन नगर सुरक्षा व्यवस्था लागू गरिने, युवा लक्षित सिप विकास तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार बनाउने भनिएको छ ।
खेलकुद विकासको लागि प्रत्येक वडाहरुमा खेल मैदानको व्यवस्था गरिने, नगर स्तरीय वार्षिक खेलकुद प्रतियोगिता संचालन गरिने, ५ वर्ष भित्र कभर्ड हल निर्माण गरिने, प्रतिभावान खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने, प्रत्येक वडामा खेलकुद प्रशिक्षकको व्यवस्था गरिने, नेपाली गीत संगीतलाई प्रोत्साहन गर्न वार्षिक प्रतियोगितात्मक संगीतिक महोत्सवको आयोजना गरिने छ भनिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १७ वटा रहेका छन् ।
