कमजोर व्यवस्थापन, गैह्र जिम्मेवार कर्मचारी
कमल चौधरी
कपिलबस्तु, १२ पुस । बाहिर जति सुन्दर देखिए पनि भित्र–भित्र समस्याको जालो बन्दै छ, बाणगंगा नगरपालिका । शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा परिचित यस नगरपालिकामा जनतालाई राम्रो सेवा सुविधा हुन नसक्द शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा सर्वोत्कृष्ट नगरपालिका किन भयो, भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ सालमा नेपाल नगरपालिका संघ द्वारा सर्बोत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिकामा पछिल्लो समय सर्वसाधारणले दिनहुं सास्ती खेप्नु परेको छ । नगरपालिकाको ग्रैह जिम्मेवारी पन तथा कमजोर व्यवस्थापनका कारण विभिन्न कामका लागि नगरपालिका आएका सेवाग्राही दिनभरी लाईमा बसेर घर बिना काम फर्किनु परेको छ । मतदाता नामावली दर्ताका लागि नगरपालिका आउनुभएकी बाणगंगा नगरपालिका ८ मधुवन निवासी लक्ष्मी ढकालले दिनभरी लाइनमा वसेर पनि मतदाता नामवाली दर्ता गराउन नसकेको गुनासो सुनाउनु भयो । सानो छोरालाई घरमा छोडेर मतदाता नामावली दर्ता गर्न दिनभरी लाईनमा बस्दा समेत नाम दर्ता नभएको गुनासो गर्नुभयो ।
‘बाणगंगा नगरपालिकामा ब्यवस्थापन राम्रो छैन । नगरपालिका ब्यवस्थापन र कर्मचारीहरु गैह्र जिम्मेवारी देखिए । अब नाम दर्ता पनि गर्दिन र कसैलाई भोट पनि हाल्दिन ।’ ढकालले आक्रोश पोख्नुभयो ।
बाणगंगा नगरपालिका वडा ८ ढोडेकोल निवासी घनश्याम न्यौपाने मतदाता नामावली नगरपालिकामा दर्ता हुने भएपछि खुशी हुँदै बाणगंगा नगरपालिका पुगे पनि ढकालको जस्तै उहांको पनि नाम दर्ता भएन । ढकाल र न्यौपाने नगरपालिका बाट दुख पाउने नमुना पात्र मात्र हुन् । नगरपालिकामा कामका लागि आउने धेरैको दुखेसो ढकाल न्यौपानेको जस्तै छ ।
बाणगंगा नगरपालिकाले सेवाग्राहीको सुविधाका लागि राम्रो व्यवस्थापन गर्न नसक्दा दिनहुँ सर्वसाधारणले सास्ती ब्यहोर्नु परेको नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं. ८ का सभापति जग्गनाथ भण्डारीले बताउनु भयो । बाणगंगा नगरपालिकाले अगामी दिनमा कामका लागि नगरपालिका आउने सेवाग्राहीलाई सहज र सरल सेवा सुविधा दिनुपर्र्नेे उहांको सुझाव छ ।
त्यस्तै बाणगंगा नगर कार्यपालिका सदस्य एंव नेकपा (एमाले) वडा ८ का वडा अध्यक्ष गिता भुसालले पनि धेरै सर्वसाधरणको काम समयमा गर्न नसक्द आफुहरुलाई पनि दुःख लागेको बताउनु भयो । निर्वाचन आयोगबाट प्रयाप्त कार्मचारी र प्राविधिकको राम्रो व्यवस्था नहुँदा सेवाग्राहीले यस किसिमको सास्ती ब्यहोर्नु परेको उहांको भनाइ छ ।
शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देशकै सर्बोत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित वाणगंगा नगरपालिकामा कामका लागि आउने सेवाग्राहीलाई राम्रो सेवा सुविधा दिनु नगरपालिकाको आफ्नो प्रमुख दायित्व र कर्तब्य हो । नगरपालिकाले आफ्नो दायितव र कर्तब्य राम्रो संग निर्वाह नगर्नुमा नगरपालिकाको मात्र कमजोरी नभएर, कर्मचारी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल तथा अग्रजहरुको पनि कमजोरी देखिन्छ ।