बुटवल, ४ असोज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान भन्दा माथि कोही हुन नसक्ने बताउनुभएको छ । प्रदेश प्रमुख शेरचनले वर्तमान संविधानले संविधान भन्दा माथि कोही नरहने व्यवस्था गरेकाले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गर्नुभयो ।
संविधान दिवसको अवसरमा आज(सोमवार) प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर बनाउनुपर्ने बताउनु भयो ।
उहांले तीनै तहका सरकारलाई समृद्धिको मार्गमा कृयाशिल रहन समेत आग्रह गर्नुभयो । प्रदेश प्रमुख शेरचनले राजनीतिज्ञहरुले भ्रष्टाचार रहित गुणस्तरीय सेवामार्फत जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभकामना आदन प्रदान कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्रीहरु, राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख, लगाएतको उपस्थिति रहेको थियो ।
