बुटवल, ९ साउन । दीप बोर्डिङ हाई स्कूलले गुरुपूर्णिमाको अवसरमा शनिबार अभिभावक कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जुम एप मार्फत् भर्चुअल रूपमा आयोजना गरिएको प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरूका ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रतियोगीहरूले शिक्षा, लैङ्गिक समानता, नैतिक अनुशासन, संस्कार, प्रविधिले निम्त्याएका विकृति, आमाको महत्व, देशको स्वाधीनताप्रतिको चिन्ता, कोरोना महामारी लगायत समसामयिक विषयवस्तुमा कविता वाचन गरेका थिए ।
प्रतियोगितामा बोल्दै विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बालबालिकाका प्रथम गुरु आमाबुबाको सम्मान र विद्यार्थीहरूलाई अभिभावकको सक्रियता मार्फत् सिकाइ र अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहांले विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा पनि विद्यार्थीहरूलाई अनलाइनका माध्यमबाट नृत्य, गायन, कविता वाचन, वक्तृत्व, चित्रकला जस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
प्रतियोगितामा रञ्जु गौतम घिमिरे प्रथम, विमला अर्याल द्वितीय र सुन्दर तरामुले तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय लाई ३ हजार र तृतीय लाई २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ । उक्त पुरस्कार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने प्रतियोगिताका संयोजक पुरुषोत्तम पाण्डेयले बताउनुभयो ।
प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसमा अध्यापनरत प्रा.डा. हिरण्यलाल ज्ञवाली, उप प्राध्यापक कलाधर अर्याल र सरस्वती संस्कृत क्याम्पसका प्राचार्य बालकृष्ण पाठकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।