बुटवल ८ साउन
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरपालिकाको असार १७ मा सम्पन्न पाँचौ नगर सभाले अक्षयकोष स्थापना गर्न बजेट पारित गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बजेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ लाख र पत्रकारितातर्फ ७ लाख विनियोजन गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । अक्षयकोष स्थापना गर्न नगरले अहिले सम्बन्धित क्षेत्रका विज्ञसँग सहकार्य गरेर कार्यविधि बनाइरहेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।
खेलकुद अक्षयकोषमार्फत् नगरभित्रका पूर्व खेलाडी, वर्तमान खेलाडीहरुलाई भइपरी आउने समस्यामा सहयोग गरिने छ । ‘राष्ट्र चिनाउने खेलकुद नै हो । नगरबाट उत्पादित थुप्रै खेलाडीहरुले विभिन्न खेलमार्फत् राष्ट्रलाई चिनाउन ठूलो भूमिका खेल्नुभएको छ । यसैको सम्मानस्वरुप हामीले अक्षयकोष स्थापना गरेका हौं’, प्रमुख अधिकारीले भने । उनकाअनुसार अबको तीन वर्षमै यो अक्षयकोष बृद्धि गरी कम्तिमा ५० लाख गराइने छ ।
यस्तै, नगरपालिकाले भैरहवा क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी पत्रकारिता अक्षयकोष स्थापना गर्न लागेको हो । यो अक्षयकोषबाट नगरपालिकाले वर्षेनि उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने र बाँकी रकमबाट पत्रकारहरुलाई भैपरी आउने समस्या सहयोग गरिनेछ । भाषा, संस्कृति र कला अक्षयकोष सिद्धार्थ साहित्य परिषद्सँगको सहकार्यमा स्थापना गर्न लागिएको हो । यो कोषबाट पनि भाषा, संस्कृति तथा कला साहित्यको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिनेछे । नगरपालिकाले कार्यविधि बनेपछि छुट्टै बैंक खाता खालेर अक्षयकोषको रकम जम्मा गर्ने छ र उक्त रकमको ब्याजबाट सहयोग उपलब्ध गराइने छ ।
अक्षयकोष बाहेक नगरपालिकाले आव २०७६÷०७७ मा खेलकुद क्षेत्रमा ३३ लाख बजेट विनियोजन गरेको छ । फुटबल खेलका लागि २० लाख, विभिन्न खेलकुद संचालनका लागि माछापुच्छ«े क्लबलाई १ लाख, भैरव क्लबलाई ५० हजार छुट्याएको छ । यस्तै, महिला उपमेयर कप संचालन गर्न ५ लाख, व्याडमिन्टन खेलका लागि १ लाख ५० हजार र अन्य विविध खेलकुद शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् । यी खेलुकद संचालन गर्न नगरपालिकाले नगरस्तरीय खेलुकद समिति गठन गरी सोहीमार्फत् खेल संचालन गर्ने जनाएको छ ।