गौतमबुद्ध विमानस्थल र मोतिपुर औद्योगिक क्षेत्रका कारण लगानी प्रवद्र्धन र रोजगारीको सम्भावना प्रशस्त : अध्यक्ष गोल्छा
बुटवल, १० फागुन । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यबसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताउनु भएको छ । मुलुकको अर्थतन्त्रको सुचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पु¥याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उल्लेख गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अन्य संस्थाहरुसंग समेत छलफल भईरहेको जानकारी गराउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराउनु भयो ।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यबसायिक संस्थाहरु बिच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यबसायको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहांले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागेको जानकारी गराउँदै सेलले बैंकिङ्, राजश्व र श्रमको समस्यामा परेका व्यबसायीहरुलाई राहतको काम गर्ने उल्लेख गर्नुभयो । महासंघले मेलमिलाप केन्द्र समेत बनाउन लागेको बताउंदै उहांले केन्द्रले उद्योग व्यबसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्बोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्दा सर्बोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गर्नुभयो ।
यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपुर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रशस्त रहेको अध्यक्ष गोल्छाले औंल्याउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भएपनि उद्योग सञ्चालन हुन नसकेकोले त्यसका समस्या के हुन् सुझाव दिन संघलाई आग्रह गर्नुभयो । सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले उद्योग व्यबसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि आफू तयार रहेको बताउनु भयो ।
उपाध्यक्ष गौतमले उद्योगी व्यबसायीका समस्या समाधानको लागि व्यबसायी र संघीय सरकारको बिचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको व्यबसायिक संस्थाहरुले समेत पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । उहाँले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउनुभयो ।
सो अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले यस क्षेत्रका उद्योगी व्यबसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद ज्ञापन र महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
