नवलपरासी, ६ साउन । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाइएको छ ।
विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुटबन्दी गरेको, संगठनको विरुद्ध भ्रामक र अनर्गल प्रचार प्रसार गरेको कारण कारवाही गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “एउटा क्रान्तिकारी, परिवर्तनको पक्षमा आवाज उठाउने पत्रकारहरुको साझा संस्थाको विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने, भ्रम सिर्जना गर्ने, संगठनका विरुद्ध गुटबन्दी गर्ने तथा संगठनको विधान विपरित गएर कार्य गर्ने गरेको पाइएकोले क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको व्यहोरा सार्वजनिक गर्दछौं ।”
