संसार पोष्ट
भैरहवा, ५ साउन । भैरहवा मर्निङ गु्रप सिद्धार्थनगर (बिएमजी) रुपन्देहीले तिलोत्तमा नगरपालिकाले स्थापना गरेका गौतमबुद्धका मूर्ति तोडफोड गर्ने कार्यमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । गौतमबुद्धका मुर्ति तोडफोड गरिएको घटना प्रति भ्रत्सना गर्दै गु्रपले यस्ता घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
बुटवल बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्यभागमा राखिएका ५ वटा बुद्धका मुर्ति साउन १ गते मध्यरातिमा तोडफोड गरिएको घटनाको विरोध गर्दै बिएमजीले आइतबार भैरहवामा र्याली सहित बिरोध प्रदर्शन गरेको छ । भैरहवास्थित बुद्धचोकबाट निकालिएको बिरोध र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो ।
शान्तिको देशमा अशान्ति फैलाउने जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउन बिएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले माग गर्नुभयो ।
बिएमजीका कार्यवाहक अध्यक्ष बाबुराम के.सी.ले बुद्धमुर्ति तोडफोडमा संलग्नलाई कानुनी कारवाही हुनुपर्ने बताउनुभयो ।
विएमजी ग्रुपले विश्व शान्तिका अग्रदुत भगवान गौतमबुद्धका मुर्तिहरु तोडफोड गरिएको घटना प्रति दुख ब्यक्त गर्दै दोषीहरु यथाशिघ्र पत्तालगाई पक्राउ गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र समेत बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाउँदै दोषीहरुलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिरोध र्यालीमा सहभागि शान्ति बौद्ध गुम्बा र सिद्धार्थ बौद्ध समाजले पनि बुद्धमुर्ति तोडफोड जस्तो अमानवीय कार्यमा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।