संसार पोष्ट
बुटवल, ५ साउन । प्रदेश ५ का मुख्यमन्त्री शँकर पोख्रेलले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि सडकको डिभाईडरमा राखेका मुद्धमुर्ति तोडफोड गर्नेलाई छिटो पक्राउ गर्न जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको छ लेन सडकको डिभाईडरमा राखेका पाँच वटा बुद्धमूर्तिहरू साउन १ गते बुधबार मध्यराति तोडफोड गरिएको थियो । छ लेन सडकको शँकरनगर चोकदेखि नयाँमिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले आईबार जिल्लाका सुरक्षा प्रमुखहरुलाई बोलाएर बुद्धमुर्ति फोर्ने कार्यमा संलग्नहरुलाई छिटो पक्राउ गर्न निर्देशन दिनुभएको हो ।
तोडफोडको घटना र त्यस बिषयमा भैरहेको अनुसन्धानका बारमा चासो राख्दै मुख्यमन्त्री पोख्रेलले घटनामा संलग्नहरुलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरमा ल्याउन निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमन्त्रीले आफ्नै निवासमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक तथा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक, शसस्त्र प्रहरी उपरिक्षकलाई बोलाएर उक्त घटनामा संलग्नहरुलाई तत्काल खेजतलास गरी कानुनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
तिलोत्तमा नगरपालिकाले बुटवल बेलहिया सडकखण्ड अन्तरगत छ लेन सडकको वीच डिभाईडरमा राखेका बुद्धमुर्तिको गएको बैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले अनावरण गर्नुभएको थियो ।