बुटवल, २५ भदौ । कोरोना नियन्त्रण र रोकथामको लागि गरिएको निषेधाज्ञालाई सरकारले केही खुकुलो बनाउदै लगेपनि होटल व्यवसाय संचालनगर्ने वातावरण नबनाएको र राहात दिन नसकेको रुपन्देहीका होटल व्यवसायीहरुले गुनासो गरेका छन् । कोरोना नियन्त्रणका लागि विगत लामो समयदेखि गरिएको लकडाउन सरकारले विशेष परिस्थिति र ब्यवसायको प्रकृति अनुसार केही खुकुलो गरेपनि लकडाउनकै कारण धरासायी बनेका होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको प्रति उनीहरुले असन्तुष्टि जनाएका छन् । सरकारले तत्काल होटल ब्यवसाय सञ्चालन गर्ने वातावरण नवनाए होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले आगामी असोज १ गतेदेखि व्यवसाय सञ्चालन गर्ने घोषणा गरेको छ । ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गरिने र स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्ड पालना गरिने विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माधवकुमार खनालले विहिवार जारी गरेको विज्ञप्तिमा कोरोनाका कारण होटल व्यसायीहरुले भोग्नु परेको पीडा, आर्थिक समस्या र व्यवसाय नै छोड्नु पर्ने अवस्था आउंदा समेत सरकारले व्यवसायीको पीडामा मलम लगाउन नसकेको गुनासो गरिएको छ ।
व्यसायीका समस्या र कोरोनाका कारण भोग्नु परेको आर्थिक पीडाका वारेमा संघिय र प्रदेश सरकार तथा स्थानीयतहमा पटक पटक जानकारी गराउदाँ समेत राज्यतहवाट कुनै सुनुवाई नभएकोले सरकारी निषेधाज्ञाको अवज्ञा गरि व्यवसाय संचालन गर्न बाध्य हुनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै संघले होटल तथा रेष्टुरेण्ट संचालनका लागि लिईएका घरहरुकोे लकडाउन अबधिको भाडा सहज वातावरण भएपछि क्रमिक रुपमा तिर्ने वातावरण बनाईदिन घर धनीसंग आग्रह गरेको छ ।
लकडाउनको समयमा घर भाडा छुट दिने घर धनीहरुलाई धन्यवाद ज्ञापन गर्दै संघले व्यवसायीलाई थप राहात दिन समेत घर धनीहरुसंग आह्वान गरेको छ । रुपन्देहीमा होटल तथा रेष्टुरेण्ट व्यवसायमा १६ अर्ब बढीको लगानी भएको र ३० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको व्यवसायमा राज्यले राहात दिन नसक्दा करिव १ सय व्यवसायीले कोरोनाका कारण पेशा नै छोड्नु परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आगामी असोज १ गते देखि सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात ब्यवसायीको निर्णय प्रति एक्यवद्धता जनाउदै संघले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी व्यवसाय संचालन गर्ने संघको निर्णयमा साथ र सहयोग दिन सरकार, स्थानीयतह तथा प्रहरी प्रशासन संग आग्रह गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीमा १ हजार २ सय व्यवसायी आवद्ध रहेका छन् ।