बुटवल, २३ भदौ । रुपन्देहीमा लकडाउन खुकुलो भएसंगै ब्यापार ब्यवसाय सञ्चालनमा आएका छन् । स्थानीय प्रशासनले कोरोना संक्रमणवाट जोगिन सुरक्षा मापदण्ड पालना गरेर मात्र ब्यवसाय सञ्चालन गर्न निर्देशन गरेको छ ।
स्थानीय प्रशासनको निर्देशन अनुसार ब्यवसायीहरुले सुरक्षा मापदण्ड पालना गरे नगरेको बिषयमा बुटवल उद्योग बाणिज्य संघले बुटवल बजार अनुगमन गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिएकोले यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा सार्वजनिक तथा निजी सवारी र ब्यापार ब्यवसाय समेत सञ्चालन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो । बन्दाबन्दीले गर्दा ब्यवसाय चौपट भएको भन्दै यस क्षेत्रका ब्यवसायिक संघसंस्थाले निषेधाज्ञाको विरोध गरेपछि स्थानीय प्रशासनले ब्यापार ब्यवसाय सञ्चालन गर्न पाउने गरी लकडाउनलाई केही खुकुलो वनाएको छ । लकडाउन खुकुलो भएपछि व्यबसायीले पसल ब्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बुटवल उद्योग वाणिज्य संघले बुटवल बजार अनुगमन गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा बजार अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुले जानकारी दिनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय बुटवलले संयुक्तरुपमा गरेको बजार अनुगमनमा ९५ प्रतिशत व्यबसायीले कोरोना भाइरसको जोखिमवाट बच्न तथा यसको जोखिम नियन्त्रणका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण पालना गरेको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो । उहांले स्वास्थ्य मापदण्ड पालना नगरेका व्यबसायीलाई स्वास्थ्य सुरक्षा सम्वन्धि सवै मापदण्ड पालना गरेर मात्र ब्यवसाय सञ्चालन गर्न आग्रह गरिएको जानकारी गराउनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुको नेतृत्वमा बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्यहरु बसन्त ढकाल, प्रकाशकुमार श्रेष्ठ र मुक्ति अधिकारी तथा ईलाका प्रहरी कार्यालय बुटवलका दुईजना प्रहरी सहभागि अनुगमन टोलीले बुटवलको अमरपथ, राममन्दिर लाईन, ट्राफिकचोक, जेसीजचोक, हाटबजार, संगमपथ लगायतका स्थानमा अनुगमन गरेको थियो ।
कोरोना भाईरस संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन गरेपछि उद्योग व्यबसाय धाराशायी भएको भन्दै रुपन्देहीमा रहेका ५ वटा उद्योग बाणिज्य संघले स्वास्थ्य मापदण्ड पालना गरेर व्यबसाय सञ्चालन गर्ने वातावरण निर्माणका लागि प्रशासनमा पैरवी गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । संघको आग्रह अनुसार स्थानीय प्रशासनले लकडाउन खुकुलो वनाएकाले सोही अनुसार व्यबसायीलाई स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व संघको भएकाले बजार अनुगमन गरिएको र सबै ब्यवसायीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुपरेको उहांले बताउनु भयो ।
निजि क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था उद्योग बाणिज्य महासंघमा आवद्ध बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ र सैनामैना उद्योग बाणिज्य संघले करिव ६ महिनादेखिको लकडाउनका कारण उद्योग व्यबसाय ठप्प हुँदा उद्योग व्यबसाय धाराशायी हुनुका साथै मुलुको अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले स्वास्थ्य मापदण्ड पालना गरि व्यापार व्यबसाय सञ्चालन गर्नेगरी लकडाउनलाई खुकुलो बनाउन प्रशासन तथा जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका थिए ।
