बुटवल, १५ भदौ । कोरोना संक्रमित विरामीहरुको उपचार गर्ने डेडिकेटेड अस्पताल रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा आइसियु संचालन भएको छ । दक्ष जनशक्तिको अभावमा अस्पतालमा आईसियु कक्ष भएर पनि संचालन हुन सकेको थिएन ।
अहिले आईसियु संचालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएपछि सोमवारदेखि आइएसियु संचालन भएको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी दिनुभयो । ५ वेडको आईसियु संचालनमा आएसंगै ५ जना विरामी समेत भर्ना भएका अस्पतालले जनाएको छ । भिम अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि तयारी अवस्थामा रहेका २२ वटा आईसोलेशन वेडमा पनि विरामी भरिएको डा. प्रजापतिले जानकारी गराउनु भयो ।
प्रदेश ५ मा आइसियु बेड ३४ वटा रहेका छन् । जसमध्ये बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भिम अस्पतालमा ५, बाँकेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड छन् ।
यसैविच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार भिम अस्पतालको निरिक्षण गर्नुभएको छ । मन्त्री वरालले कोभिड–१९को लक्षण देखिएका विरामीको संख्या वृद्धि हुदै जांदा उनीहरुको उपचारका लागि आईसियु वेड क्षमता वृद्धि गर्नु परेकाले भिम अस्पतालमा दक्ष जनशक्ति सहित आईसियु संचालन गरिएको बताउनुभयो । उहांले संक्रमितहरुको उपचारमा कुनै कसर बांकी नराख्न चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिदै विरामीको उपचारका लागि आवश्यक जनशक्ति र वजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
