बुटवल १५ भदौ
कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ ।
समाजका सबैभन्दा पिँधमा रहेका वर्गले भोग्दै आएका दुःख, पीडा र उनीहरुको सुन्दर सपनाहरूलाई निबन्धहरुमा समेटिएको छ । निबन्धबारे वरिष्ठ साहित्यकार दिल साहनीले भनेका छन् “नयाँ समाजको निर्माण तथा शान्ति र प्रगति नै उनको निबन्धको मूल सार हो ।”
पुस्तकभित्रका निबन्धहरूले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट नयाँ र उन्नत समाज निर्माणलाई केन्द्रमा राखेका छन् । निबन्धकार खोमा तरामु मगर भन्छन्, “मैले सत्य, न्याय, दमित, शक्तिहीनहरुको पक्षमा र सबैखालका अमानवीय प्रवृत्तिविरुद्ध निबन्धमार्फत् आवाज उठाएको छु ।” उनले भने, “सहिद, वेपत्ता तथा घाइते योद्वाहरुका अलपत्र सपनाहरूभित्र रहेका निःसृत उद्देलन र उनका प्रियजनहरुभित्र थाम्नै नसकिने गरी उर्लिएको विद्रोह र नयाँ समाज निर्माण गर्ने उत्कत आकाङ्क्षाहरुको बयानीलाई निबन्धहरुमा समेटेको छु ।”
पुस्तकको प्रकाशन अखिल नेपाल लेखक सङ्घले गरेको छ । सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको अधुरो सपनाहरुलाई समेटिएको निबन्धहरुमा नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखाइएको छ । पुस्तक १५२ पृष्ठ रहेको छ । तरामु मगरको यो पहिलो निबन्ध सङ्ग्रह हो ।
