नवलपरासी, ७ भदौ । पश्चिम नवलपरासीमा मदिरा सेवन गरेर कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । शनिबारराति मदिरा सेवन गरेर झैझगडा हुंदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ पतलहवा टोल बस्ने ४१ बर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी गराउनु भयो ।
झगडाका क्रममा शनिबारराति यादवमाथि दाउराको चिरपटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी नायब उपरीक्षक लामाले बताउनु भयो । हत्या गरिएका यादवको शव घरको आगन छेउमा थियो । हत्या घटनाको अनुसन्धानका लागि मृतक यादवका छिमेकी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु विचको झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाटर्मका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरीले स्थानीय डल्लु दुषाद र प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकी टोल निवासी रोशन मल्लाहलाई नियन्त्रणमा लिएको छ ।
