बुटवल, १३ साउन । नेपालको शिक्षा प्रणालीमा कोभिड–१९ को प्रभाव दीर्घकालिन रुपमा देखा पर्न सक्ने तर्फ बुटवलमा आज (मंगलवार) आयोजित एक कार्यक्रमका वक्ताहरुले सचेत गराएका छन् । शिक्षामा प्रत्यक्ष भन्दा दीर्घकालिन समस्या विकराल हुने भन्दै त्यसतर्फ सरोकारवाला निकाय समयमै सचेत हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले मंगलवार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्ने शिक्षा संवद्ध ब्यक्तिहरुले क्वारेन्टाइन बनाइएका विद्यालयहरुमा फर्निचर तथा अन्य भौतिक पूर्वाधार विग्रिएकाले तत्काल विद्यालय संचालन गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
साक्षात्कारमा बोल्दै प्रदेश ५ का समाजिक विकास मन्त्री सुदशैन बरालले शिक्षामा स्पष्ट नीति लिन नसक्दा शिक्षा बेवारिसे जस्तो भएको स्वीकार गर्नु भयो । उहाँले यही अवस्था रहिरहे नेपालको शिक्षा नै विलय हुने खतरा रहेको उल्लेख गर्नुभयो । ‘यस्तै अवस्था रहने हो भने आठ दश बर्षमा नेपालको शिक्षा कोल्याप्स हुन्छ, उहाँले भन्नुभयोे– ‘एजुकेशन कोल्यास भए राज्य नै सकिने छ । त्यस तर्फ सचेत हुनु जरुरी छ ।’
प्रदेशमा कोभिड– १९ को बास्तविक अवस्था पत्ता लगाए पछि कलेज तथा विद्यालयहरु विस्तारै खोल्दै जाने उहाँले बताउनु भयो । मन्त्री वरालले शिक्षा क्षेत्रको अधिकार र दायित्वको स्पष्ट किटान गर्न सकेमा मात्र दीर्घकालीन समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो ।
प्याब्सनका केन्द्रिय प्राज्ञिक सल्लाहाकार कृष्ण खनालले अहिलेको समयमा शिक्षक कर्मचारीलाई कसरी बचाउने भन्ने मै संस्था चिन्तित रहेको बताउनु भयो । उहाँले नीजि क्षेत्रको शिक्षा अभिभावक विहिन भएको भन्दै राज्यले आफूहरुलाई विभेदपूर्ण व्यवहार गरेको बताउनु भयो । उहाँले प्रदेश सरकारले अभिभावकत्व लिइ समस्या समाधान गर्न आग्रह समेत गर्नु भयोे ।
एन प्याव्सनका केन्द्रिय सदस्य कृष्ण पौडेलले शिक्षामा जवाफदेही निकाय नहुँदा समस्या विकराल बन्दै गएको गुनासो गर्नु भयो । उहाँले अभिभावकलाई शुल्क तिर्नबाट रोक्न नहुने भन्दै यदि रोक्ने हो भने त्यसको भुक्तानी राज्यले दिनुपर्ने माग गर्नुभयो । उहाँले शिक्षा समन्वय इकाइको जिम्मा स्थानीय तहले धान्न नसकेको भन्दै त्यसको अधिकार प्रदेशले लिनु पर्नेमा जोड दिनु भयो ।
शिक्षक महासंघ प्रदेश ५ का उपाध्यक्ष कुलप्रसाद लामिछानेले राज्यको नीतिगत दोषका कारण सवै क्षेत्र अस्तव्यस्त रहेको बताउनु भयो । उहाँले कोभिड–१९ को कारण उत्पन्न कतिपय अवसरलाई समेत सरकारले उपयोग गर्न चुकेको आरोप लगाउनु भयो । राज्यसँग स्कूल कसरी संचालन गर्ने भन्ने स्पष्ट धारणा नभएका कारण समस्या झन बढ्दै गएको जिकिर गर्नु भयो ।
नीजि शिक्षकहरुको संगठन प्याव्सुका केन्द्रिय सदस्य हरि पौडेलले शिक्षा क्षेत्रका बौद्धिक मजदुरहरु मारमा परेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिन नसकेको गुनासो गर्नु भयो । शिक्षक विनाका नीजि विद्यालयहरु मसान घाट हुने भन्दै उपेक्षाको भाव स्वीकार्य नहुने उहांले बताउनु भयो ।
शिक्षा पत्रकर संघका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्लले सरकारको नीति नै दोधारे भएका कारण शिक्षा क्षेत्र थप अलमलको अस्थामा रहेको बताउनु भयो । उहाँले क्वारेन्टाइन निर्माण भएका विद्यालयहरुमा भौतिक अस्तव्यस्तताका कारण त्यसको व्यवस्थापन नगरि संचालन गर्ने अवस्थामा नरहेको औल्याउनु भयो ।
नेपाल अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले राज्यले चाहने हो भने रोल नम्वरका अधारमा जोर विजोर प्रणाली सहित कक्षा संचालन गर्न सक्ने बताउँदै सरकार त्यतातर्फ उन्मुख हुन नसकेको टिप्पणि गर्नुभयो । अनलाईन शिक्षा नाटक मात्र भएको भन्दै उहाँले ३० प्रतिशत समेतको सहभागिता हुन नसक्ने अवस्थामा अनलाईन कक्षाको कुनै अर्थ नहुने बताउनु भयो ।
संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) रुपन्देही अध्यक्ष सुदिप श्रेष्ठले नीजि शिक्षकहरुको मर्का राज्यले बुझ्न नसकेको गुनासो गर्नु भयो ।
साक्षात्कार कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
