बुटवल, १३ साउन । बिदेशी कामदार ल्याउँदा अनिवार्य रुपमा प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले उद्योगी व्यबसायीलाई आग्रह गरेको छ । संघले बिदेशी कामदार (बिशेष गरी भारतीय कामदार) ल्याउँदा प्रशासनको स्वीकृति लिनका लागि उद्योगी व्यबसायीलाई आग्रह गरेको हो ।
संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरि विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन पछिपनि कोरोना भाईरसको संक्रमण बढ्दै गएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नेपाली उद्योग प्रतिष्ठानमा काम गर्ने कामदार ल्याउँदा स्थानीय तह मार्फत अनिवार्य क्वारेनटाईनमा राख्ने, आवश्यक भएमा पिसीआर जाँच गराउने र बिदेशी नागरिक (बिशेष गरी भारतीय नागरिक) कामदार भएमा अनिवार्य प्रशासनको स्वीकृति लिएर मात्रै ल्याउन संघले विज्ञप्ति मार्फत आग्रह गरेको छ । यस्तै कोरोना भाइरसको रोकथाम तथा न्युनिकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सरकारलाई गम्भिर हुन समेत सघले आग्रह गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा झण्डै ४ महिना लामो लकडाउन यहि साउन ६ गते अन्त्य भएपछि पनि बुटवल बजार क्षेत्रमा कोरोना भाईसरको संक्रमण देखिएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनकालागि सरकारले रोक लगाएका उद्योग व्यबसाय बाहेक अन्य व्यबसाय प्रतिष्ठान सञ्चालन गर्दा अनिवार्य सुरक्षाका उपायहरु अवलम्बन गर्न र कुनै पनि उद्योगी व्यबसायीले अनाधिकृत रुपमा कामदार ल्याउने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड नअपनाएमा त्यसको जिम्मेवार स्वयम व्यबसायी हुनुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी व्यबसायी तथा उपभोक्ता समेतलाई भिडभाड कम हुने उपाए अपनाउन र डिजिटल भुक्तानी प्रणाली अवलम्बन गर्न आग्रह गरिएको छ । सरकारी संयन्त्रले पिसीआर परीक्षणलाई साँघुरो पारिएकै कारण समुदायतहमा कोरोना भाईरस संक्रमण बढेको उल्ल्ेख गर्दै संघले संघीय तथा प्रदेश सरकार र स्थानीय तहलाई पिसीआर परीक्षणको दायरा बढाउन तथा व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन गराउने कामलाई समेत प्रभावकारी बनाउन माग गरेको छ ।
कोरोना भाईरसको संक्रमणबाट जोगिन, रोग फैलिन नदिन र यसको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्न, सेनिटाईजर तथा मास्कको अनिवार्य प्रयोग गर्न तथा भारतबाट कामदार ल्याउँदा अनिवार्य रुपमा स्वीकृति लिएर मात्रै ल्याउन आग्रह गर्दै संघले बुटवल बजारमा माईकिङ् तथा सूचना प्रशारण गरेको छ ।
