भैरहवा, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले घुस रकमसहित दुई जनालाई रंगेहात नियन्त्रणमा लिएको छ ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ लोध र विचौलिया महेन्द्र यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा उनीहरुलाई सिद्धार्थनगर नगरपालिका ५ सेन्चुरी बैंकबाट घुस रकमसहित पक्राउ गरिएकोे अख्तियार बुटवलका कार्यालय प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
विमानस्थलमा कार्यरत कार्यालय सहयोगी र विचौलिया दुबै जना सेवाग्राहीसँग घुस लेनदेन गर्न सेन्चुरी बैंक पुगेका थिए । बैंकमै घुस लेनदेनको कारोबार गर्दैगर्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता भुसालले वताउनु भयो । उहांका अनुसार विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो अख्तियार कार्यालयमा पटक–पटक आउने गरेको थियो । पक्राउ परेका लोध र विचौलिया यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।
