कपिलवस्तु, १३ साउन । कपिलवस्तुमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लाको शिवराज नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज (मंगलबार) संक्रमण पुष्टि भएका मध्ये २८ जना पुरुष र ६ जना महिला रहेका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी गराउनु भयो । थापाका अनुसार संक्रमित मध्ये १२ जना भारतबाट आएका, ४ जना संयुक्त अरब इमिरेट्स (दुबई) बाट आएका, ३ जना कतारबाट आएका र २ जना साउदी अरवियाबाट आएका छन् । अन्य १३ जना स्थानीय बासिन्दा रहेका छन् । समुदायस्तरमा समेत कोरोना संक्रमण देखिएपछि जिल्लामा कोरोनाको त्रास बढेको छ ।
शिवराज नगरपालिकाका विभिन्न स्थानबाट ८४ जनाको स्वाब लिइएकोमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको कारोना फोकल पर्सन थापाले बताउनु भयो । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको हो । आज ३४ जना कोरोना संक्रमित थपिए संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ७९६ पुगेको छ ।