बुटवल, १३ साउन । बुटवलमा आफ्नै घर (होम क्वारेन्टिन) मा बसेका पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको छ । दुबईबाट आएर घरमै क्वारेन्टाइन बसिरहेका बुटवल उप महानगरपालिका–१३ का एक पुरुषमा संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी गराउनु भयो ।
जनस्वास्थ्य अधिकृत सिंहका अनुसार संक्रमित पुरुष दुबईबाट विमानमार्फत काठमाडौ आएको र काठमाडौबाट सिधै बुटवल आएर सुरक्षित रुपमा घरमै बसिरहेका थिए । कोरोना संक्रमणको कुनै लक्षण नदेखिएका उनलाई बुटवल देबिनगरस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ । उनको परिवार होम क्वारेन्टाईनमा रहेका छन् ।
संक्रमित पुरुषको आज (मंगलबार) कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढाईने जनस्वास्थ्य अधिकृत सिंहले बताउनु भयो ।
सोमबार मात्र बुटवलस्थित एक होटलमा बस्दै आएका एकैपरिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको सार्वजनिक भएको थियो ।
बुटवलको एक सिरक डसना भण्डारमा काम गर्नका लागि भारतवाट आएका उनीहरु रोजगारदाता संस्थामा जानुअघि यही साउन ७ गतेदेखि होटलको क्वारेन्टाइनमा बसेका थिए । पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानास्थित कोरोना अस्पताल लगिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत सिंहले बताउनु भयो ।
