बुटवल, ३ साउन । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा गठित दक्षिण टोल विकास संस्थाले नगरका सडकमा विभिन्न ७ प्रजातीका ३ सय पुष्प बृक्षरोपण गर्नुका साथै नियमित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने नारालाई साकार रुप दिन टोल र समुदायलाई सफा सुघर, सुन्दर बनाउने अभियानलाई आत्मसाथ गर्दै पुष्प बृक्षरोपण गरिएको हो ।
शनिवार नगरपालिकाको कुंजलापुर चोक देखि १२ नं मणिग्राम चोक सम्मको १ किलोमिटर दुरीमा सडकको दुवै तर्फ पुष्प वृक्षरोपण तथा सरसफाई गरिएको हो । संस्थाले आगामी दिनमा हरेक महिनाको १५ गते नियमित सरसफाई कार्यक्रम गरेर नगरपालिका र वड़ा सँग समन्वय गर्दै जाने लक्ष्य लिएको छ ।
उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेले नगरपालिकाको मुल मन्त्रलाई आत्मसाथ गरि टोल विकास संस्थाले गरेको कामलाई निरन्तरता दिन आह्वान गर्नु भयो । मेयर घिमिरेले नगरपालिकाको क्षेत्राधिकार भित्र गठित टोल विकास संस्थाहरुले सामाजिक कामलाई बढी ध्यान दिन जरुरी रहेको औल्याउनु भयो ।
संस्थाका अध्यक्ष सुन्दरप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडाअध्यक्ष सुखदेव न्यौपाने, कार्यक्रम संयोजक शालिकराम तिवारी, कोषाध्यक्ष उमेश भुसाल, संस्थाका सचिब सुमन के सी लगायतले संस्थाले गरेका र भावि दिनमा गर्ने कामका वारेमा प्रकाश पार्नुभएको थियो ।
उक्त कार्यक्रममा वडाका बिभिन्न सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थाले आगामी दिनमा हरेक महिनाको १५ गते नियमित सरसफाई गर्ने गरि कार्यतालिका समेत तयार गरेको सचिव सुमन केसीले जानकारी गराउनु भयो । नब गठित दक्षिण टोल बिकास संस्थाले कोभिड १९ को बारेमा पनि समुदायमा सचेतना सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।
