साउन १, बुटवल । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (एन–प्यावसन) रुपन्देहीले आफू मातहतका विद्यालयहरुले संचालन गरेका सवै अनलाइन कक्षाहरु बन्द गर्ने निर्णय गरेका छन् ।
विहिवार बुटवलमा बसेको संयुक्त बैठकले सम्पूर्ण अनलाइन कक्षा संचालन बन्द गर्ने र शिक्षक कर्मचारीलाई वितलबी विदा दिने निर्णय गरेका हुन ।
बैठकले मतहतका सवै विद्यालयहरुलाई जिल्लाको निर्णय परिपालना गर्न निर्देशन समेत गरेका छन् । विद्यालयहरुले निर्णय पालना गरे नगरेको अनुगमन गर्न दुवै संस्थाले अनुगमन समिति समेत बनाएका छन् । मातहतका विद्यालयले जिल्लाको निर्णय कार्यन्वयन नगरेमा व्यवसायिक बहिस्कारसँगै साधारण सदस्यबाट हटाउने निर्णय भएको प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल र एन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलद्धारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।
एन प्याव्सनका प्रमुख सल्लाहाकार देउ प्रकाश राईको संयोजक रहने गरी सल्लाहाकार तिलव केसी, सचिव बाबुराम बन्जाडे, सहसचिव विनोद थापा र सदस्य लक्ष्मण अर्याल रहेको एन प्याव्सन अनुगमन समिति बनाइएको छ भने प्याव्सन रुपन्देहीको जिल्ला सचिवालयले अनुगमन गर्ने गरी निर्णय भएको अध्यक्ष लेखनाथ पौडेलले जनाकारी दिनु भयो ।
अनुगमन समितिले जिल्लाका प्रत्येक पालिकाहरुमा संयुक्त पालिका स्तरीय अनुगमन समिति निमार्णमा जोड दिने र अन्य निजी शिक्षालयहरुसँग समन्वय गर्ने अख्तियारी समेत पाएका छन ।
त्यस्तै संयुक्त बैठकले जिल्लाका प्रत्यक पालिकाहरुमा ध्यानाकर्षण पत्र दिने पनि निर्णय गरेको छ । ‘कोभिड १९ का कारणले तहस नहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गरियोस, ध्यानाकर्षण पत्रमा भनिएको छ,–‘वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷१९२ दिन पठन–पाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदा कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस् ।’
