बुटवल, ३० असार । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले समृद्ध र समुन्नत प्रदेश निर्माणकालागि स्वरोजगार सृजना गरी प्रदेशका जनतालाइ आत्मनिर्भर बनाउने योजनामा सरकार अगाडी बढेको बताउनुभएको छ ।
नेशनल ब्युटिसियन ट्रेनिङ्ग ईन्स्टिच्युट प्रालिले बुटवलमा संचालन गरेको व्युटिसियन तह १ र २ तालिममा सहभागिहरुलाई आईतबार प्रमाणपत्र बितरण गर्दै मन्त्री केसीले सीपयुक्त नागरिक उत्पादनको लागि प्रदेश सरकार योजनाबद्ध ढंगबाट अगाडी बढेको बताउनुभएको हो । नागरिकलाई आत्मनिर्भर र स्वरोजगार बनाउनका लागि सीपयुक्त तालिमहरु सञ्चालनमा सिटिइभिटिइ तथा सम्बद्ध निजी संस्थाहरुसंग पनि सहकार्य गरेर अगाडी बढ्ने उहांले बताउनुभयो । समुन्नत प्रदेश निर्माणकालागि ५० लाखलाइ स्वरोजगार बनाएर प्रदेशका जनतालाइ आत्मनिर्भर बनाइने मन्त्री केसीले बताउनुभयो ।
सिटिईभिटि प्रदेश ५ का प्रमुख अर्विन्द कुमार चौधरीले सिटिईभिटिले सीपयुक्त नागरिक उत्पादन गरिरहेको बताउनुभयो । प्रदेश ५ मा ८ वटा आंगिक क्याम्पस रहेको जानकारी दिदैं चौधरीले बजारको माग र आवश्यकता अनुरुप समय सापेक्ष तालिमका कक्षाहरु संचालन गरिने बताउनुभयो । नेशनल ब्युटिसियन ट्रेनिङ्ग ईन्स्टिच्युटका अध्यक्ष शान्ता शर्माले अहिलेसम्म यो इन्ष्टिच्युटले ४ सय जना भन्दा धेरैलाइ सिपयुक्त तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार मुलक काममा लाग्न उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । संस्थाका संचालक बिष्णु थापाको स्वागत तथा पत्रकार कल्पना तिवारीको संचालनमा भएको कार्यक्रममा व्युटिसियन तह १ र २ का गरी ४० जना सहभागिलाइ तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो ।
